धार्मिक, सामाजिक सद्भावको गढ : गढिमाई मेला
काठमाडौँ – हरेक पाँच वर्षमा एकपटक ‘गढीमाई’को चर्चा परिचर्चा चुलिने गर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बहस हुने यो मेला यसपालि पनि चलिरहेकै छ ।
हरेक पाँच वर्षमा मङ्सिर १ गतेदेखि सुरु हुने यो मेला एक महिनासम्म चल्छ । मधेसका विभिन्न जिल्लाका ११ स्थानमा यो मेला लाग्छ । तर सबैभन्दा धेरै भने बाराको वरियापुरको गढीमाई मन्दिर चर्चामा रहन्छ ।
यो चर्चाको पनि आफ्नै कथाहरू छन् । मन्दिर अनि मेलाका आ–आफ्नै कहानी र किंवदन्तीहरू छन् । मिथक र विश्वासहरू छन् ।
यो मन्दिरमा हरेक पाँच वर्षमा लाखौं पशुपंक्षीको बली चढाईन्छ । राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरुपमा पनि यही बलीका कारण मन्दिर र मेलाको चर्चा हुने गर्छ । खासगरी पशु अधिकारकर्मीहरूले बलिप्रथाको विरोध गर्छन् ।
हरेक प्राणीलाई बाँच्ने अधिकार बराबर भएको भन्दै अधिकारकर्मीहरूले बली प्रथा रोक्न सरकारलाई दबाव पनि दिँदै आएका छन् । सरकारले पनि त्यहीअनुसार बलिलाई व्यवस्थित र नियन्त्रण गर्ने प्रयासहरू गरिरहेको छ ।
तथापि लाखौं मानिसको आस्था जोडिएका कारण अहिलेसम्म पनि यहाँ बलि रोकिएको छैन । नेपालमात्रै नभएर यो मेलामा छिमेकी भारतका हिन्दू समुदायको पनि उत्तिकै सहभागिता रहन्छ । एक महिनासम्म लाखौं मानिसले भरिने यो मेला एकप्रकारको धार्मिक महाकुम्भजस्तै हुन्छ ।
खासगरी आदिवासी समुदाय थारुहरूको इतिहास र धार्मिक विश्वास गाँसिएको यो गढीमाई मन्दिर र मेलासँग अहिले हरेक हिन्दूको आस्था पनि उत्तिकै गहिरो छ ।
खासगरी समाजमा पछि पारिएका थारुहरूले यो मन्दिरलाई आफ्नो पूर्खाको धार्मिक अवयवका रुपमा पनि लिने गरेका छन् । अहिले पनि यो मन्दिरका मूल पूजारी थारु समुदायबाटै हुन्छन् ।
हालका पूजारी पनि यो मन्दिर स्थापना गर्ने उनै मूल थारुका पुस्ता मानिन्छन् । मन्दिर स्थापनाका पछाडि जोडिएका किम्बदन्तीअनुसार कैद सजाय भोगिरहेका एकजना थारु समुदायका व्यक्ति भगवान दास थारु सपनामा तुलजा भवानी (गढीमाई) को दर्शन पाउँछन् । र, भवानीले एउटा त्रिशुल उनलाई दिएकी हुन्छिन् ।
कैद भुक्तान गरेर घर फर्किने बेलामा भगवानदासले त्यो त्रिशुल एक ठाउँमा गाडिदिन्छन् । त्यही ठाउँमा मन्दिर बन्छ र त्यसपछि मेलाको सुरुवात हुन्छ । त्यो त्रिशुल गाडिएको स्थान अर्थात् हालको बारा जिल्ला बरियापुरमा बनेको मन्दिरमा रहेको भवानीको मूर्ति आफै स्थापना भएको पनि किंवदन्ती छ ।
हिन्दुहरूको आस्थामा रहने शक्तिपीठमध्ये यो पनि एउटा शक्तिपीठ हो । शक्तिपीठहरूको शिवपत्नी सतिदेवीको अङ्गहरू पतन भएको धार्मिक विश्वास पनि छ । अर्को किंवदन्तीअनुसार भगवान विष्णुले राक्षसहरूको बध गर्न देवीको रुप धारण गरेका थिए ।
देवीले रक्षसहरूको बध गर्छिन् र युद्धबाट थाकेर उनी त्यहाँको जंगलमा आराम गर्न पुगेकी थिइन् । त्यसैले त्यहाँ उनको मूर्ति आफैँ उत्पन्न भएको भन्ने पनि पौराणिक मान्यता छ ।
त्यसबेलादेखि यिनै थारु परिवारले मन्दिरको संरक्षण, संवद्र्धन र देवीको पूजाआजा गर्दै आएको र उनका सारा पुस्ता कोही न कोही यो मन्दिरमा जोडिने गरेको जनश्रुतीहरू पनि स्थापित भएका छन् ।
जे जस्तो भए पनि गढीमाई देवीलाई साक्षात् देवीको प्रतीकका रुपमा लिइन्छ । त्यसैले अरु शक्तिपीठभन्दा यो मन्दिरको महत्व अझ बढ्न गएको पाइन्छ ।
यो पौराणिक परिघटना लगभग १७ औं शताब्दीतिर भएको मानिन्छ । त्यस हिसाबले यो मन्दिर र मेलाको इतिहास लगभग चार सय वर्ष पुरानो छ । सदियौं पुरानो इतिहास र मान्यताहरूलाई कति विश्वास गर्ने ? त्यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो ।
तथापि, गढीमाई विश्वका आम हिन्दूको धार्मिक आस्थामा गहिरोसँग गाँसिएको छ । नेपालमै रहेका अरु मन्दिरहरूको तुलनामा यो मन्दिर औसत हो । तर यहाँको धार्मिक विश्वास र आस्था भने धेरै अग्लाअग्ला छन् ।
प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिरको मूर्ति कसले र कहिले स्थापना भयो ? वा आफैँ उत्पन्न भयो कि कसैले बनाएर राखेको हो भन्नेबारे अहिले पनि मत अभिमतहरू बाझिन्छन् । तथापि यो शक्तिपीठसँग गाँसिएका फरक मान्यता र आस्थाका कारण यसको धार्मिक भव्यता अरु भन्दा निकै पृथक छ ।
हरेक पाँच वर्षमा लाग्ने यो मेलाको एक महिने अवधिमा हजारौं पशुपंक्षीको प्राण चढाइन्छ । तर त्योभन्दा अघि उनै मन्दिरका संस्थापकका पुस्ता अर्थात् मूल पूजारी आफैँले नरबली दिने प्रचलन छ ।
त्यो भनेको मान्छेकै बलिको नाउँमा शरीरका विभिन्न पाँच अङ्गको रगत निकालेर मूर्तिमा चढाइन्छ । त्यसपछि मुसा, बोका, परेवा, कुखुरा अनि राँगाको बलि चढाइएपछि बल्ल सर्वसाधारणले आफ्नो भाकल, इच्छा र हैसियतअनुसार पशुबलि चढाउँछन् ।
त्यसमध्ये सबैभन्दा बढी राँगाको बलि चढाइन्छन् । यकिन तथ्य र तथ्याङ्कहरू नभए पनि यहाँ हरेक वर्ष ३० देखि ४० हजार राँगाहरूको बलि चढाइन्छ । अरु पशुपक्षीको खासै गणना रहँदैन ।
धर्म भनेको हरेक व्यक्तिको आफ्नै मौलिक र निजी स्वतन्त्रताको कुरा हो । त्यसैले नेपाल पनि धर्मनिरपेक्ष राष्ट्र हुनेछ भनेर संविधानमै लेखिएको छ ।
यो वैयक्तिक स्वतन्त्रता कतै–कसैबाट हनन् हुनुहुँदैन । यो एउटा मानवअधिकारको पनि कुरा हो । अनि धर्म भनेको धारण पनि हो । त्यो भनेको हरेक प्राणीको जीवनको आफ्नो शैली, स्वभाव र अनुशासन हो । हरेक धर्मका आआफ्नै महत्व छन् ।
विश्वास र आस्था छन् । आफ्ना मान्यताहरू छन् । कुनै धर्म र आस्थाको महानता अर्कोसँग तुलना हुँदैन र हुनुहुँदैन । यो मेलाका क्रममा हजारौं प्राणको ज्यान हरण हुने गरेको भन्दै विरोध र आलोचना हुँदै आएको छ ।
हरेक प्राणीलाई मान्छेजस्तै स्वतन्त्र बाँच्ने अधिकार रहन्छ र हुन्छ नै । तर एउटा आस्था, विश्सार र धारणाले बाँधिएको यो प्राकृतिक चक्रलाई त्यहीअनुसार स्वीकार गर्नुपर्छ । शिक्षा र चेतनाको विकाससँगै यस्ता मान्यताहरू विस्तारै स्थापित हुँदै जान्छन् ।
यद्यपि अहिले विश्वभरि नै पशुअधिकारका लागि कैयौँ अभियानहरू चलिरहेका छन् । कतिपय देशहरूले पशुअधिकारको कानुनसमेत बनाइसकेका छन् । नेपालले पनि विस्तारै पशु अधिकारका लागि कानुनहरू बनाउने, बलिप्रथा व्यवस्थित र नियन्त्रण गर्दै लैजाने जस्ता कामहरू क्रमिक रुपमा गर्दै आएको छ ।
जे जस्तो भए पनि गढीमाई पनि त्यस्तै एउटा समूह र समुदायको आस्थाको एउटा केन्द्र हो । कुनै एउटा समुदायको पुस्तैनी इतिहास गाँसिए पनि यो मन्दिर र मेलाको महत्वलाई आम समुदायले नै अपनत्व पाइन्छ ।
पञ्चवर्षीय यो मेलामा हरेक व्यक्ति, समुदाय र वर्गका बीच आपसी मेलमिलाप, सद्भाव र प्रेमभाव प्रकट भएको देखिन्छ । त्यसैले यो मेला एकप्रकारले भन्ने हो भने धार्मिक र सामाजिक सद्भावको एउटा उत्कृष्ट सङ्गम पनि हो । रासस