चैत १९ मा संघीय संसद् अधिवेशन
काठमाडौं । राष्ट्रपतिले चैत १९ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। सिंहदरबारस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। सोही संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपतिले संसद् बैठक बोलाउने निर्णय गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नयाँ राजनीतिक परिस्थिति र सरकार गठनपछि संसद् सञ्चालनको औपचारिक प्रक्रिया सुरु गर्न अधिवेशन बोलाइएको हो।
नयाँ प्रतिनिधिसभा गठन भइसकेको अवस्थामा अब संसद्मार्फत सरकारका नीति तथा कार्यक्रम, विधेयक दर्ता, संसदीय समिति गठन, बजेट तयारी तथा अन्य महत्वपूर्ण कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
सरकारले आगामी अधिवेशनलाई नीतिगत तथा राजनीतिक एजेन्डा अघि बढाउने महत्वपूर्ण चरणका रूपमा लिएको छ, जसले नयाँ संसदीय कार्यकालको दिशा तय गर्ने विश्वास गरिएको छ।
