शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने, के गर्ला सरकारले ?
टुरिजमफेस
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिए ।
उनले उक्त जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको बताए । सिआइबीले चार महिनाभन्दा बढी लगाएर उक्त जग्गाको अनुसन्धान गरेको हो ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका थिए । तर अहिले अधिकांश जग्गा व्यक्तिले उपयोग गरिरहेको अनुसन्धानबाट देखिएको छ । यस्तो अध्ययनपछि के अब सरकारले त्यो जग्गा फिर्ता गर्ला भनेर स्थानीयले चासो दिएका छन् ।