संसदीय समितिले भन्यो–निजगढ विमानस्थल निर्माण तत्काल थालौं
टुरिजमफेस
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य तत्काल अघि बढाउन निर्देशन दिएको छ । नेपाल वायु सेवा निगमको विमान सञ्चालन र व्यवस्थापनका सम्बन्धमा छलफल गरेपछि समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक रहेको निष्कर्ष निकालेको हो ।
‘राष्ट्रिय महत्व, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिइएको छ,’ समितिले भनेको छ । नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पनि पूर्णरूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।
त्यस्तै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच समन्वय एवं पहलकदमी लिन समेत समितिले निर्देशन दिएको छ ।