पर्यटन प्रवर्द्धन गर्न नेपाल र भुटानका व्यवसायीबीच छलफल

टुरिजमफेस
काठमाडौं । नेपाल र भुटानबीच पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले छलफल गरेको छ । अमेन भुटानका प्रबन्ध निर्देशक रन्जित तामाङले भुटानको पर्यटन व्यवसायको बारेमा जानकारी दिने र नेपाल तथा भुटानका व्यवसायीबीच सहकार्य गर्ने उद्देश्यले काठमाडौंमा कार्यक्रम गरिएको बताए ।
प्रवर्द्धन कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा सो क्षेत्रमा आबद्ध व्यक्तिहरू सहभागी थिए । नेपालका पर्यटन व्यवसायीसँग सम्पर्क समन्वय बढाउन तथा भुटानको पर्यटन क्षेत्रका बारेमा एकै थलोमा बसेर जानकारी आदान प्रदान गर्न कार्यक्रम आयोजना गरिएको तामाङले बताए । अमेन भुटान ट्राभल एण्ड ट्रेक्स प्रालि भुटानको निजी क्षेत्रको पर्यटन प्रवर्द्धन कम्पनी हो ।
तेस्रो देशका पर्यटकहरू नेपाल हुँदै भुटान जाने र नेपाल तथा भुटानबीच सिधा हवाई सेवाको सहज उपलब्धताका कारण पनि नेपाली व्यवसायीसँग भुटानको पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया गरिएको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका पर्यटन व्यवसायी ङावा ङिमा शेर्पाले बताए ।