अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे शिक्षा विभाग खारेजीको निर्णयमा हस्ताक्षर

टुरिजमफेस
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेजी गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँग उनले जति सक्दो चाँडो विभाग बन्द गर्ने बताए । यद्यपि उनको निर्णयविरुद्ध अदालतमा मुद्दा पर्ने लगभग निश्चित छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचित भएयता खर्च कटौतीका अनेक निर्णय गर्दै आएका छन् । केही समयअघि उनले युएसएड बन्द गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले रुस–युक्रेन विवादमा युक्रेनलाई सहयोग नगर्ने बताइरहेका छन् ।
अमेरिकाले अन्य देशको तुलनामा शिक्षामा धेरै खर्च गरे पनि स्तर सुधार हुन नसकेको ट्रम्पको भनाइ छ । विभाग खारेज गर्ने निर्णय सदर हुनका लागि सिनेटका ६० सदस्यको आवश्यक पर्छ । तर अहिले ट्रम्पको पार्टी रिपब्लिक पार्टीको मत ५३ छ । यो विभाग सन् १९७९ मा स्थापित हो र यसले सामुदायिक विद्यालयमा लगानी गर्ने, विद्यार्थी ऋणको व्यवस्था गर्ने तथा निम्न आय भएकालाई शिक्षाको व्यवस्था गर्ने काम गर्छ । उनले यस्तो खर्च स्थानीय तहले गर्नुपर्ने बताएका छन् ।