रोजगारीका लागि युएई गएका १६६ नेपालीले पाए आममाफी

uae
टुरिजमफेस
काठमाडौँ । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएको तर विभिन्न कारणले जेल जानु परेका १६६ जना नेपालीलाई त्यहाँको सरकारले आममाफी दिएको छ ।
मुस्लिमहरूको पवित्र पर्व रमादान तथा इदका अवसर पारेर युएई सरकारले १६६ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेलमा बस्नु पर्दा उनीहरूका परिवारले उद्धारका लागि अनेक आग्रह गर्दै आए पनि सम्भव हुन सकिरहेको थिएन । नेपाली बन्दीलाई आममाफी दिएकोमा युएई सरकारप्रति नेपालले कृतज्ञता ज्ञापन गरेको छ । पछिल्लो समयमा युएई नेपालीहरूको प्रमुखमध्येको गन्तव्य बनिरहेको छ । खासगरी मलेसिया रोजगारीमा जाँदा अनेक समस्या सृजना भएपछि नेपाली युवायुवतीको रोजाइ युएई परिरहेको छ ।
पारिश्रमिक र बसोबासको दृष्टिकोणले युएईको रोजगारी मध्यम भए पनि श्रमिकले कुनै पनि कानुन तोडेमा जेल सजाय भोग्नु पर्ने हुन्छ । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर गएकामध्ये युएईमा करिब तीन लाख नेपालीले काम गरिरहेको अनुमान छ । यस्तै कतार सरकारले पनि केही दिनअघि केही नेपालीलाई आममाफी दिएको थियो ।
uae