तीन महिनामा झण्डै तीन लाख पर्यटक आउँदा युरोपबाट २५ हजार मात्रै

टुरिजमफेस
काठमाडौं । पछिल्लो तीन महिनामा झण्डै तीन लाख पर्यटक आउँदा युरोपबाट २५ हजार मात्रै नेपाल घुम्न आएका छन् । पर्यटन व्यवसायीहरू युरोपबाट आउने पर्यटकलाई गुणस्तरीय पर्यटक मान्छन् । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ को पहिलो तीन महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
जसअनुसार जनवरीमा ७९ हजार ९ सय, फेब्रुअरीमा ९६ हजार ८ सय र मार्चमा १ लाख २१ हजार ८ सय पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ । सन् २०२४ को तुलनामा यो वर्ष भित्रिएको पर्यटक आगमन संख्या भने केही कम हो । गत वर्ष जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ हजार १६७ जना पर्यटक नेपाल भित्रिएका थिए ।
मार्चमा भित्रिएका पर्यटकमा दणिण एशियाली मुलुकबाट ३५ हजार, एसियाका अन्य देशबाट ३१ हजार, युरोपबाट २५ हजार, अमेरिकाबाट १३ हजार, मध्यपूर्वबाट २ हजार, अफ्रिबाट ७ हजार र बाँकी अन्य मुलुकका पर्यटक रहेको विभागले जनाएको छ । यो तथ्यांकबाट एकातिर नेपालमा आउने पर्यटकको संख्या बढेको छैन भने अर्कोतर्फ गुणस्तरीय पर्यटन ल्याउने भन्ने पर्यटन बोर्ड तथा अन्य सरकारी कार्यालयको भनाइ फितलो सावित भइरहेको छ ।