चौँरी महोत्सवमा भारत र भुटानका पर्यटक

टुरिजमफेस
विराटनगर । पाँचथरको फालेलुङमा सुरु भएको आठौँ चौँरी महोत्सवमा भारत र भुटानका पर्यटकको सहभागिता भइरहेको छ । हरेक वर्ष नयाँ वर्ष पारेर आयोजना हुने चौँरी महोत्सव यो वर्ष पनि भव्य रूपमा भइरहेको फालेलुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष महेन्द्र कुमार जबेगुका अनुसार महोत्सव वैशाख १ गतेसम्म चल्छ । महोत्सवमा चौरीसँगै फोम्जो, याक, डी र उराङसहित चौँरी र भेडाजन्य उत्पादन प्रदर्शनीमा राखिएका छन् ।
भारतको सिक्किम र पश्चिम बंगालको सीमा नजिकै नेपाली भूमिमा आयोजना भइरहेको महोत्सवमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा, तेह्रथुमसहित छिमेकी मुलुक भारत र भुटानकासमेत पर्यटकको सहभागिता छ ।
लोप हुँदै गएको चौँरी संरक्षण, चौरी पालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको गाँउ पालिका अध्यक्ष वीरकुमार थाम्सुवाङले बताए । महोत्सवमा हिमाली क्षेत्रको संस्कृतिसँगै स्थानीयको आर्थिक उर्पाजनको मेरुदण्डका रूपमा रहेको चौरीलाई पर्यटनसँग जोडेर लाने उद्देश्यले चौरी महोत्सव आयोजना हुँदै आएको आयोजक संस्थामध्येको एक दिप ज्योती युवा क्लवले जनाएको छ ।
पशु सेवा विज्ञ केन्द्र पाँचथरको तथ्यांक अनुसार २० वर्ष अगाडिसम्म पाँचथर जिल्लामा ३ हजार ५ सय चौँरी थिए । अहिले यो संख्या घटेर १ हजार पाँचसयको हाराहारीमा झरेको छ । चौँरीको घट्दो क्रमलाई रोकथाम गर्दै युवा पुस्तालाई यस व्यवसायमा आकर्षित गर्न फालेलुङ गाँउ पालिकाकै लगानीमा यो वर्ष पनि दिप ज्योती युवा क्लव, फालेलुङ कञ्चनजंघा पर्या पर्यटन र कञ्चनजंघा चौँरी पालन सस्थाले चौँरी महोत्सव आयोजना गरेका हुन् ।