नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैनः पूर्वराजा शाह

टुरिजमफेस
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको जनप्रदर्शनमा हिंसा, आगजनी, तोडफोड हुनुलाई दुःखद भनेका छन् । नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा भिडियो सन्देश सार्वजनिक गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘तीनकुने घटनामा भएको मानवीय एवं भौतिक क्षति सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन् । राजनीतिक दलका नेताहरूले उक्त घटनामा पूर्व राजाको समर्थन रहेको दावी गरिरहेको बेला त्यसबारे पहिलो पटक उनले मुख खोलेका हुन् ।
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गरिएको प्रदर्शनमा एक् पत्रकारसहित दुई जनाको मृत्यु हुनुको साथै दर्जनौं घाइते भएका थिए र करोडौंको भौतिक सम्पत्ति नष्ट भएको थियो । घटनाका संलग्न रहेको आरोपमा प्रहरीले पद्रर्शनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तथा महामन्त्री धवलशमशेर राणालगायतलाई पक्राउ गरेको छ ।
भिडियो सन्देशमा पूर्वराजा शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने उल्लेख गरेका छन् । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरूकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ शाहले भनेका छन् ।
उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पु¥याउँदै आएको उल्लेख गर्दै राष्ट्रियता र प्रजातन्त्रको मूल भाजना अनुसार जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा मान्यता रहिआएको बताएका छन् ।