स्वदेशी उत्पादनको खपत बढाउन जमुनाह नाकामा कडाइ

nepalgunj naka
टुरिजमफेस
नेपालगञ्ज । सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न जमुनाहा नाकामा कडाइ गरिएको छ । दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगञ्जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहामा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।
‘एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगञ्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो’, उनले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाहनाकामा कडाइ गरिएको छ ।’
ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको उनको भनाइ छ । नेपालगञ्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगञ्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाहानाकामा भन्सार कडाइ गर्न पटकपटक आग्रह गर्दै आएका थिए ।
‘भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ’, बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ ।’
नेपालगञ्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । गत आवमा लक्ष्य हासिल नभएपछि नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१÷८२ का लागि गत आवको तुलनामा एक अर्ब घटाइएको थियो ।
गत आव २०८०÷८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकामा घटाएर चालु आवमा भन्सार असुली लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।
यद्यपि गत आवमा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजस्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आवका लागि २७ अर्ब बढी तोकिएकाले चालु आवमा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१÷८२ साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आवमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगञ्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिनामा ४६ दशमलव पाँच प्रतिशतमात्र राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।
nepalgunj naka