मानव बेचबिखन तथा ओसारपसार विधेयकमा परामर्श

टुरिजमफेस
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक उपर नागरिक समाजका अगुवाहरूले परामर्श गरेका छन् । वैदेशिक रोजगार तथा मानव बेचबिखनविरुद्ध काम गरिरहेका नागरिक समाजका अगुवा तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सुझाव लिन परामर्श बैठकको आयोजना गरिएको हो ।
परामर्श बैठकमा कुनै पनि हालतमा आमसर्वसाधारणको हक, हित र रक्षा हुनुपर्ने व्यवस्थाको आवश्यकता रहेको औंल्याइयो । विभिन्न बहानामा मानव बेचबिखन र ओसारपसार हुने गरेको उल्लेख गर्दै भुक्तभोगीहरूले अब बन्ने कानूनले अनेक बहानामा गलत काम गर्नेहरूलाई छोड्न नहुने ग्यारेन्टी गर्नुपर्ने आवाज उठाएका छन् ।
विधेयक उपर छलफल गरी सरकार र सांसदहरूलाई सुझाव दिन श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलसहित सविन श्रेष्ठ, अनिता थपलिया, बेनुमाया गुरुङ, शान्ति तिवारीको समूहले मस्यौदा तयार पार्ने काम गरिरहेको छ । सोही कार्यक्रममा बोल्दै अधिवक्ता लुइँटेलले विधेयकको मस्यौदाका लागि पार्लेमो प्रोटोकल र अन्तर्राष्ट्रिय मापदण्डहरू, संविधान, विभिन्न संघ, संस्थाहरूका संशोधन प्रस्ताव तथा विगतमा प्राप्त सुझावलाई आधार लिइएको बताए । उनले विधेयकमा समेटनै पर्ने कुरा भए जतिसक्दो चाँडो मस्यौदा समितिलाई सुझाव दिन आग्रहसमेत गरेका छन् ।
पछिल्लो समयमा विभिन्न बहानामा मानव बेचबिखन तथा ओसारपसार हुने क्रम बढेको छ । कतिपयले बालगृहमा संरक्षण दिने तथा शिक्षा दिने नाममा समेत बेचबिखनको धन्दा भइरहेको आरोप लगाएका छन् । परामर्श बैठक आइओएम र युनओडिसीको आयोजनामा भएको हो ।