विमानस्थल व्यवस्थापन र सुरक्षाबारे प्रश्न उठिरहनु राम्रो होइन

छलफलमा सहभागी तस्बिर टुरिजमफेस
टुरिजमफेस
काठमाडौं । वर्षौदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र सुरक्षाबारे प्रश्न उठ्दै आए पनि त्यसमा सुधार भयो भन्ने अवस्था अझै नआएको सरोकारवालाहरूले प्रश्न उठाएका छन् ।
काठमाडौंमा आयोजित दक्षिण एशियाली मुलुकमा आतंकवाद र नेपालको त्यसको असर विषयक छलफलमा बोल्दै विज्ञहरूले कहिले नेपालको विमानस्थलबाट उडेको जहाज अपहरण पर्नु त कहिले ठूलो परिणामको सुन आयात भरहनुले निरन्तर सुरक्षाको प्रश्न उठिरहेको बताएका हुन् ।
सामाजिक नवप्रवर्तन तथा विदेश नीति केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपालबाट उडेको जहाज अपहरणमा परेपछि त्रिभुवन विमानस्थलमा बम नै छिराउन सकिन्थ्यो भने भन्ने हल्ला अहिले ठूलो परिमाणमा सुन आइरहेकाले अझै सुरक्षा व्यवस्था कमजोर नै छ भन्ने देखिने बताए । उनले धेरैजसो देशमा अध्यागमन प्रहरीको व्यवस्था गरिए पनि नेपालमा त्यसो नहुँदा मजबुत सुरक्षा व्यवस्था हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे ।
उनले नेपालको अभ्यास नौलो भएको उल्लेख गर्दै अवकाश हुनै लागेका सुरक्षाकर्मीलाई अध्यागमन सुरक्षाको नेतृत्व गर्न दिइने गरेको बताए । विमानस्थल सुरक्षाका लागि एकीकृत योजना हुनुपर्नेमा कर्मचारी र प्रहरीका छुट्टाछुट्टै कुरा आउँदा व्यवस्थापन र सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ ।
दक्षिण एशियाका अधिकांश मुलुकमा व्याप्त आतंकवादका कारण नेपाल पनि जोखिममा रहेको उल्लेख गर्दै साउदले यसमा नेपालले गम्भीर भएर काम गर्नुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपालले आतंकवादलाई गम्भीर रूपमा लिन नसक्दा नेपालको पर्यटन क्षेत्रसमेत प्रभावित भइरहेको बताए । ‘काठमाडौंबाट उडेको भारतीय जहाज अपहरणमा परेपछि केही वर्षसम्म त्यसको असर पर्यटन क्षेत्रमा पनि प¥यो,’ त्यस्ताखाले आतंकवादको जोखिम अझै पनि भएकाले नेपाल गम्भीर हुन आवश्यक छ ।’
उनले आतंकवाद अन्त्यका लागि नेपालले गतिलो पहलकदमी लिनुपर्ने भए पनि त्यतातर्फ काम नभएको गुनासो गरे । ‘अझै पनि विमानस्थलमा मनपर्दी हुँदो रहेछ भने भर्खरैको भिजिट भिसा प्रकरणले देखाइरहेको छ,! उनले भने, ‘कतिपयले नेपालको विमानस्थलबाट हात्ती नै छिराउन सकिन्छ भनिरहेका छन् । तर नेपालले प्रतिवाद गर्नसक्ने अवस्था छैन ।’
केही दिनअघि भारतको कश्मिरमा एक जना नेपाली आतंकवादी आक्रमणमा मारिए पनि नेपालले आतंकवादका विरुद्ध गतिलो कदम लिन नसकेको यादवले बताए । सोही कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव शंकरदास बैरागीले अध्यागमन प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको धारणा राखे ।
पछिल्लो समयमा आतंकवाद भौतिक रूपमा मात्र नभई नेटवर्किङ र साइबरको माध्यमबाट समेत भइरहेकाले थप सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ ।
छलफलमा सहभागी तस्बिर टुरिजमफेस