नेपालगन्ज फोटो फेस्टिबल असार ४ र ५ मा

टुरिजमफेस
नेपालगन्ज । फोटो फेस्टिबलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिबलमा फोटो प्रर्दशनीसँगै फोटोग्राफी तालिम पनि सञ्चालन हुने भएको छ ।
फेस्टिबलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटोमध्ये निर्णायक मण्डलले छनोट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघीय राजधानी र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ ।
यी फोटोहरू अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । १ सय ११ फोटोमध्येवाट निर्णायकहरूले सर्वोत्कृष्ट फोटो छनोट गर्नेछन् । यस फोटोलाई ‘वर्ष फोटो अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रूपैयाँ र प्रमाणपत्र वितरण गरिनेछ ।