स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकका लागि सरकारको आचारसंहिता, फोहोर व्यवस्थापनदेखि सांस्कृतिक सम्मानसम्म जोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ। पर्यटक गतिविधिलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन मन्त्रालयले नेपाली तथा अंग्रेजी भाषामा ‘के गर्ने, के नगर्ने’ सम्बन्धी निर्देशिका जारी गरेको हो।
हालै केही विदेशी तथा भारतीय पर्यटकले सार्वजनिक स्थल, सडक किनारा, नदी तथा ताल आसपास खाना पकाउने, कपडा धुने र अस्थायी बसोबास गर्ने गरेका दृश्य सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि मन्त्रालयले स्पष्ट मार्गनिर्देशन ल्याएको हो।
निर्देशिकाअनुसार नेपाल प्रवेश गर्ने यात्रुले सीमा नाकामा भन्सारसम्बन्धी आवश्यक विवरण अनलाइन वा प्रत्यक्ष रूपमा भर्नुपर्नेछ। भारतीय नागरिकलाई भिसा आवश्यक नपरे पनि वैध परिचयपत्र वा राहदानी साथमा राख्नुपर्ने उल्लेख गरिएको छ।
मन्त्रालयले नेपालको भौगोलिक बनोटलाई ध्यानमा राख्दै पहाडी तथा घुमाउरा सडकमा यात्रा गर्दा सवारीसाधन पूर्ण रूपमा प्राविधिक रूपमा ठीक अवस्थामा हुनुपर्ने जनाएको छ। चालकले स्थानीय सडक, मौसम र भौगोलिक अवस्थाबारे पर्याप्त जानकारी राख्नुपर्ने सुझाव पनि दिइएको छ।
तीर्थ तथा पर्यटकीय क्षेत्रमा सरसफाइलाई विशेष प्राथमिकता दिँदै मन्त्रालयले फोहोर जथाभावी नफाल्न आग्रह गरेको छ। प्रयोग भएका सामग्री तथा फोहोर तोकिएका स्थानमा मात्र व्यवस्थापन गर्नुपर्ने र नियम उल्लंघन गरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ। विशेषगरी मुक्तिनाथजस्ता उच्च भूभागमा जाने यात्रुले आवश्यक औषधि तथा अक्सिजनको व्यवस्था गर्न सुझाव दिइएको छ।
त्यसैगरी, स्थानीय संस्कृति, परम्परा र धार्मिक आस्थाप्रति सम्मानजनक व्यवहार गर्न मन्त्रालयले अनुरोध गरेको छ। सभ्य पोशाक प्रयोग गर्न, शिष्ट भाषा बोल्न तथा धार्मिक स्थलमा प्रवेश गर्दा स्थानीय परम्पराको पालना गर्न भनिएको छ।
निर्देशिकामा नेपालमा गाँजा सेवन तथा प्रयोग कानुनविपरीत रहेको जानकारी गराउँदै मदिराजन्य पदार्थको प्रयोग पनि जिम्मेवार र मर्यादित रूपमा गर्न पर्यटकलाई सचेत गराइएको छ।
