ललितकला बन्न सक्छ पर्यटक आकर्षक गर्ने माध्यम

टुरिजमफेस
काठमाडौं । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी सम्पन्न भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएका थिए ।
समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उपस्थिति रहेको थियो ।
करिब ३० हजारले अवलोकन गरेको प्रदर्शनीको मुख्य ध्येय मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।
राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठुलो ललितकला प्रदर्शनी एक महोत्सव हो ।
प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, सामाजिक विकास मन्त्रालय (कोसी प्रदेश), बेलबारी नगरपालिका, बेलबारी प्रज्ञा–प्रतिष्ठान, मैथिली विकास कोष, गण्डकी प्रज्ञा–प्रतिष्ठान, नेपाल व्यावसायिक कलाकार सङ्घ (रुपन्देही), बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, नेपाल कमर्सियल आस्टिस्ट सङ्घ (सुर्खेत), जननमुना माध्यमिक विद्यालय (वीरेन्द्रनगर, सुर्खेत), थारु कल्याणकारिणी सभा, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, संवाद फाउन्डेसनलगायतले सहकार्य गरेका थिए । विज्ञहरूले नेपालको ललितकला पर्यटक आकर्षक गर्ने माध्यम बन्न सक्ने सुझाव दिएका छन् ।