त्रिविका कतिपय विषयमा औँलामा गन्ने विद्यार्थी मात्रै
Tourism Face NEWS, Political 0
काठमाडौं, १३ असार । देशकै सबैभन्दा पुरानो र ठूलो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केन्द्रीय विभागहरूमा पछिल्ला वर्षहरूमा विद्यार्थी भर्ना उल्लेख्य रूपमा घट्दै गएको देखिएको छ। विशेषगरी मानविकी र सामाजिक विज्ञानका विषयमा विद्यार्थीको आकर्षण कमजोर बन्दै जाँदा केही विभागमा स्नातकोत्तर तहमा एकल अंकमा मात्रै भर्ना हुने अवस्था आएको छ।
त्रिवि प्रशासनका अनुसार सेमेस्टर प्रणाली, अनिवार्य ८० प्रतिशत हाजिरी, नियमित आन्तरिक मूल्याङ्कन तथा अध्ययनसँगै रोजगारी गर्न कठिन हुने व्यवस्थाले विद्यार्थी संख्या घट्न प्रमुख भूमिका खेलेको छ।
भूगोल विभागमा चार विद्यार्थी मात्रै
कुनै समय एउटै स्नातकोत्तर कक्षामा करिब ७० जना विद्यार्थी अध्ययन गर्ने भूगोल केन्द्रीय विभाग मा अहिले पहिलो सेमेस्टरमा चार जना मात्र भर्ना भएका छन्। तेस्रो सेमेस्टरमा १४ जना र एमफिलमा पनि चार जना विद्यार्थी अध्ययनरत छन्।
विभागका मुख्य कार्यालय सहायक ज्ञानुराजा महर्जनका अनुसार वार्षिक परीक्षा प्रणाली हटेर सेमेस्टर लागू भएपछि नियमित कक्षा, आन्तरिक परीक्षा र असाइनमेन्टको चाप बढेकाले काम गर्दै पढ्ने विद्यार्थीहरू घटेका छन्।
केन्द्रीय क्याम्पसमा विद्यार्थी संख्या घट्यो
त्रिविको केन्द्रीय क्याम्पसमा अहिले करिब तीन हजार विद्यार्थी मात्र अध्ययनरत छन्। केही वर्षअघि यही संख्या १८ देखि २० हजार सम्म पुग्ने गरेको थियो।
विश्वविद्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा त्रिविमा पाँच लाख ८७ हजार ७१९ विद्यार्थी अध्ययनरत थिए। यो संख्या २०८०/८१ मा घटेर पाँच लाख ३१ हजार ३९९ पुगेको थियो। २०८१/८२ मा केही सुधार भई पाँच लाख ६१ हजार १७० पुगे पनि २०७९/८० को तुलनामा अझै करिब २६ हजारभन्दा बढी विद्यार्थी कम छन्।
मानविकीका धेरै विभागमा न्यून भर्ना
इतिहास तथा संस्कृति विभागमा पहिलो र तेस्रो सेमेस्टरमा क्रमशः २६ र २८ जना विद्यार्थी छन् भने एमफिलमा १५ जना अध्ययनरत छन्।
एक समय वार्षिक प्रणालीमा करिब १,२०० विद्यार्थी भर्ना हुने समाजशास्त्र विभागमा अहिले पहिलो सेमेस्टरमा ३० र तेस्रो सेमेस्टरमा १६ जना मात्रै छन्। एमफिलमा भने ३५ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।
हिन्दी विभागमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी जम्मा १७ जना विद्यार्थी छन्। संस्कृत विभागमा १५ जना विद्यार्थी अध्ययनरत छन्।
शिक्षक अभाव पनि चुनौती
कतिपय विभागले शिक्षक अभावलाई पनि ठूलो समस्या मानेका छन्।
बौद्ध अध्ययन केन्द्रीय विभाग मा स्नातकोत्तर र एमफिलमा ६०–६० तथा पीएचडीमा २० जना विद्यार्थी भए पनि विभागमा स्थायी रूपमा तीन जना शिक्षक मात्रै छन्। विभाग प्रमुख डा. चन्द्रकला घिमिरेका अनुसार सीमित जनशक्तिका कारण एउटै शिक्षकले धेरै विषय सम्हाल्नुपर्ने अवस्था छ।
मनोविज्ञानमा भने आकर्षण बढ्दो
सबै विभागमा विद्यार्थी घटेको अवस्था भने छैन। मनोविज्ञान केन्द्रीय विभाग मा पहिलो सेमेस्टरमा ८१ र तेस्रो सेमेस्टरमा ७० जना विद्यार्थी अध्ययनरत छन्।
विभागका अधिकारीहरूका अनुसार क्लिनिकल साइकोलोजी, विद्यालय परामर्श र संगठनात्मक व्यवहारजस्ता रोजगारीमुखी विषयका कारण विद्यार्थीको रुचि बढिरहेको छ।
लचिलो अध्ययन प्रणालीको माग
स्नातकोत्तर तहका विद्यार्थीहरूले अध्ययनसँगै रोजगारी गर्न मिल्ने गरी बिहान वा बेलुकाको कक्षा सञ्चालन गर्नुपर्ने, हाजिरी प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने तथा अनुसन्धान र इन्टर्नसिपका अवसर विस्तार गर्नुपर्ने माग गरेका छन्।
विद्यार्थी नेताहरूले पनि उच्च शिक्षालाई श्रम बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
त्रिविको धारणा
त्रिविका निमित्त रेक्टर प्रा.डा. शंकरप्रसाद खनालले विद्यार्थीको अध्ययन रोजाइ परिवर्तन भएको स्वीकार गर्दै विशेषगरी मानविकी संकायमा यसको प्रभाव परेको बताए। उनका अनुसार अहिलेका विद्यार्थी अध्ययनसँगै रोजगारीलाई प्राथमिकता दिने भएकाले विश्वविद्यालयले पनि त्यसअनुसार लचिलो शैक्षिक वातावरण विकास गर्नुपर्ने आवश्यकता छ।
उनले भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विभागहरूमा भने विद्यार्थी संख्या तुलनात्मक रूपमा स्थिर रहेको दाबी गरेका छन्।
