कर्णालीको नयाँ झुलुङ्गे पुल बन्यो आन्तरिक पर्यटनको आकर्षण, स्थानीय व्यवसायमा उत्साह
कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिकालाई जोड्ने कर्णाली नदीमाथिको नयाँ झुलुङ्गे पुल सञ्चालनमा आएपछि यो क्षेत्र आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा परिचित हुन थालेको छ। साँझपख चिसो हावा, कर्णाली नदीको मनोरम दृश्य र पुलको आकर्षक संरचना अवलोकन गर्न दैनिक सयौँ आगन्तुक पुग्न थालेका छन्।
हालै निर्माण सम्पन्न भई सर्वसाधारणका लागि खुला गरिएको दौलतपुरस्थित ४८२ मिटर लामो पुलले स्थानीयको आवागमन मात्र सहज बनाएको छैन, पर्यटनसँग जोडिएका साना व्यवसायलाई पनि नयाँ अवसर दिएको छ।
टीकापुर–५ का किरण चौधरीका अनुसार विशेषगरी साँझको समयमा पुल अवलोकन गर्ने, फोटो खिच्ने र सामाजिक सञ्जालका लागि भिडियो बनाउन आउनेको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
पर्यटकको आगमन बढेसँगै फोटोग्राफी व्यवसायी पनि उत्साहित भएका छन्। बर्दियाका राजेश चौधरीले पुल खुलेपछि यही क्षेत्रमा फोटो तथा भिडियो सेवाबाट राम्रो आम्दानी हुन थालेको बताए। उनका अनुसार पहिले विभिन्न स्थानमा पुगेर सेवा दिनुपर्ने अवस्था रहे पनि अहिले पुल परिसरमै पर्याप्त ग्राहक भेटिन थालेका छन्।
पुल सञ्चालनपछि कैलाली र बर्दियाबीचको यात्रा दूरी करिब २४ किलोमिटरबाट १५ किलोमिटरमा सीमित भएको छ। यसअघि स्थानीयले जोखिमपूर्ण डुङ्गा यात्राको सहारा लिनुपर्ने बाध्यता पनि अन्त्य भएको छ।
स्थानीय प्रेमप्रसाद भण्डारीका अनुसार पुलले दुई जिल्लाबीचको आवागमनलाई सहज बनाउनुका साथै टीकापुर पार्कलगायत आसपासका पर्यटकीय क्षेत्रको आकर्षण पनि बढाउने अपेक्षा गरिएको छ। यसबाट होटल, रेष्टुराँ, यातायात तथा अन्य स्थानीय व्यवसायले समेत लाभ लिन सक्ने विश्वास गरिएको छ।
११ असार २०८२ मा सम्झौता भएको यो आयोजना निर्माण कम्पनी थानी निर्माण सेवा ले करिब एक वर्षमै सम्पन्न गरेको हो। करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँ लागतमा बनेको पुल अहिले सञ्चालनमा आइसकेको छ भने औपचारिक हस्तान्तरणको प्रक्रिया बाँकी रहेको निर्माण पक्षले जनाएको छ।
स्थानीय सुन्दरलाल थारूले कर्णाली नदीमाथिको यो झुलुङ्गे पुल भविष्यमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने प्रमुख पर्यटन आकर्षण बन्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार पर्यटकको संख्या बढ्दै गए स्थानीय उत्पादन, आतिथ्य सेवा तथा अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव पर्नेछ।
यसअघि टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिकालाई जोड्ने सन्कट्टीस्थित कर्णाली नदीमाथिको पक्की पुल पनि सञ्चालनमा आइसकेको छ। नयाँ झुलुङ्गे पुल थपिएसँगै कर्णाली आसपासको क्षेत्र पर्यटन र आर्थिक गतिविधिको नयाँ केन्द्र बन्ने अपेक्षा गरिएको छ।
