घोडाघोडी सिमसारमा हरिहाँसको वार्षिक गणना सुरु, संरक्षण अवस्थाको अद्यावधिक तथ्यांक संकलन हुँदै
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको वर्तमान अवस्था बुझ्न तीनदिने गणना अभियान सुरु गरिएको छ। सूचक प्रजातिका रूपमा चिनिने हरिहाँसको संख्या, वितरण र बासस्थानको अवस्थाबारे अद्यावधिक तथ्यांक संकलन गर्न नेपाल पन्छी संरक्षण सङ्घले अभियान सञ्चालन गरेको हो।
आइतबारदेखि सुरु भएको गणनामा आठ सदस्यीय टोली परिचालन गरिएको छ। टोलीलाई तीन उपसमूहमा विभाजन गरी सिमसार क्षेत्रका तीन छुट्टाछुट्टै ब्लकमा एकैसाथ गणना भइरहेको स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिए।
उनका अनुसार घोडाघोडी क्षेत्रमा हरेक वर्ष जाडो र गर्मी दुवै मौसममा हरिहाँसको नियमित गणना गरिन्छ। गर्मीयाममा भने प्रजननका लागि विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले जाडोको तुलनामा घोडाघोडीमा यसको उपस्थिति कम देखिने गरेको छ।
हरिहाँसले कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायतका सिमसार क्षेत्रमा प्रजनन गर्ने भएकाले गर्मी महिनामा घोडाघोडीबाट अन्य क्षेत्रमा फैलिने प्रवृत्ति रहेको संरक्षणकर्मीहरू बताउँछन्।
पछिल्ला वर्षका तथ्यांकले पनि यही अवस्था देखाउँछन्। गर्मीयाममा सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस अभिलेख गरिएका थिए। जाडोयाममा भने सन् २०२६ मा यो संख्या ४२९ पुगेको थियो। यद्यपि अन्य जलचर पन्छीको संख्या भने क्रमशः घट्दो अवस्थामा रहेको संरक्षणकर्मीहरूको भनाइ छ।
यसपटकको गणनाले हरिहाँसको संख्या मात्र नभई यसको वितरण, बासस्थानको अवस्था र अन्य जलपन्छीको उपस्थितिबारे पनि विस्तृत विवरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
तराईकै सबैभन्दा ठूलो प्राकृतिक सिमसारमध्ये एक मानिने घोडाघोडी ताल सन् २००३ मा रामसार सूचीमा समावेश गरिएको थियो। त्यसबेला यहाँ करिब एक हजार हरिहाँस अभिलेख भएका थिए। जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रलाई २०७८ फागुन २७ गते नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा गरिएको थियो।
घोडाघोडी सिमसारका प्रमुख सूचक प्रजातिमा हरिहाँस, मगर गोही र जंगली धान पर्दछन्। संरक्षणविद्हरूका अनुसार नियमित गणनाबाट प्राप्त तथ्यांकले भविष्यका संरक्षण योजना र सिमसार व्यवस्थापनमा महत्वपूर्ण आधार प्रदान गर्नेछ।
