तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै

टुरिजमफेस
काठमाडौं । कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हुन लागेको छ । जसलाई युनेस्कोले सन् १९९६ मा सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो । ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोट करिब २९ वर्ष गौतम बुद्धले बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा अन्तिम मनोनयन दस्तावेज औपचारिक रूपमा पेस भएको छ । जसका लागि लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा फ्रान्स पुगेका छन् । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पनि फ्रान्स गएका छन् ।
झन्डै ७० वर्षदेखि तिलौराकोटमा उत्खनन् तथा अन्वेषणको काम भइरहेको छ । तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा ३०० वर्षअघि नै व्यवस्थित रहेको विभिन्न तथ्य फेला परेका छन् ।
विश्व सम्पदा सूचीमा तिलौरोकोटको करिब १४० बिघा क्षेत्रफल सूचीकृत हुने लुम्बिनी विकास कोषले जनाएको छ । विश्वमा अहिलेसम्म एक हजार १२१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । नेपालका काठमाडौँ उपत्यका र लुम्बिनी यसअघि नै विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका छन् ।
विगतमा तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको थियो । तर विविध कारणले सफल हुन सकिएको थिएन । तिलौराकोटको पाँचौँ शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फासियान र सातौँ शताब्दीमा हुवेन साङले भ्रमण गरेका थिए । सन् १८९९ मा पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन् गरेपछि झनै यसको महत्व महत्व बढ्दै गएको हो ।
के हुन्छ विश्न सम्पदा सूचीमा सूचीकृत भएपछि ?
विश्व सम्पदामा सूचीकृत भएपछि सम्पदा क्षेत्रको महत्व बढ्छ । त्यसपछि पर्यटकीय गतिविधि बढ्नुको साथै सम्पदा क्षेत्रको सुन्दरता बढाउनुको साथै अनियन्त्रित शहरीकरणलाई नियन्त्रण गर्छ ।