‘बर्फानी बाबा’ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो, पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै
टुरिजमफेस
बाँके । राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।
नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले बताए ।
उनले बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा गरेर सो मन्दिरमा पुग्न सकिने उल्लेख गर्दै त्यस क्षेत्रको विकास लागि अझै लगानी बढाउन आवश्यक भएको बताए ।
राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’को मन्दिर धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य भएकाले भौतिक पूर्वाधारको विकासमा अझै विकास आवश्यक भएको धारणा व्यक्त गरे । उनले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरेको जानकारी दिँदै बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताए ।
खानेपानीको व्यवस्थापन थिएन, भक्तजन बस्ने कुनै प्रबन्ध थिएन तर अहिले सबैको व्यवस्थापन भएको पूर्वअध्यक्ष थारूको भनाइ छ । मन्दिर क्षेत्रमा अझै पनि शौचालय व्यवस्थापन हुनसकेको छैन । चौधरीले आवतजावत गर्न अझै कठिनाइ झेल्नुपरेको जानकारी दिँदै पर्याप्त भौतिक पूर्वाधारको विकास हुन नसकेको बताए ।
‘बर्फानी बाबा’ मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्दा कुटीमा कठिनाइ झेल्नुपरेको बताउँदै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताए ।
