पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना पञ्चमी मेला, जहाबाट देख्न सकिन्छ मनास्लु, गणेश र माछापुच्छेससम्म
टुरिजमफेस
चितवन । पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना-५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ ।
मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । मेलामा राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहने उनले बताए ।
इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीका अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा छ । केही वर्षदेखि इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउन सो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरूका लागि सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।
इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको स्थल हो । समुद्री सतहदेखि एक हजार ८०० मिटरको उचाइमा रहको मन्दिरको वरपर जङ्गलले ढाकेको छ ।
फागुन र चैतमा ढकमक्क फुलेका लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छेससम्म पनि देख्न सकिन्छ ।
