साढे चार महिनामै निलम्बनमा परे बीमा प्राधिकरण अध्यक्ष ओझा

टुरिजमफेस
काठमाडौं । बीमा प्राधिकरण अध्यक्ष शरद ओझा नियुक्तिको साढे चार महिनामै निलम्बनमा परेका छन् । अध्यक्षका लागि तोकिएको योग्यता सम्बन्धी विवादमा परेपछि उनी निलम्वनमा परेका हुन् ।
प्राधिकरणका अध्यक्षलगायतका पदाधिकारीमाथि छानविन गर्न समिति गठन गरेसँगै ती व्यक्ति स्वतः निलम्वनमा पर्छन् । योग्यता सम्बन्धी विवादमा छानबिन गर्न सरकारले समिति गरेसँगै ओझा निलम्बनमा परेका हुन् ।
पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । छानबिनबाट दोषी ठहरिएमा उनी बर्खास्त समेत हुनेछन् । सरकारले ओझालाई गएको फागुन १२ गते प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । ओझासँग प्राधिकरण अध्यक्षका लागि आवश्यक पर्ने योग्यता र बीमा ऐेनले तोकेको विज्ञता नभएको भन्दै विवाद हुँदै आएको छ ।