वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित

टुरिजमफेस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।
आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिएको सुनिश्चित भएसँगै उक्त घोषणा गरेका हुन् ।
सङ्घीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा वाग्मती प्रदेशलाई यस किसिमको सफलता प्राप्त भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको ‘डिजिटल हेल्थ’ कार्यक्रमको पनि उद्घाटन गरे ।
प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय गन्तव्य प्राप्तिका लागि ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिएको बताए । उनले नेपालमा मानिसका साथै पशुपक्षी र वनस्पति पनि निरोगी हुन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरे । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए ।