अन्नपूर्णमा विदेशी पर्यटकको वृद्धि तर आम्दानीमा पारदर्शिता छैन

टुरिजमफेस
काठमाडौं । विश्वकै उत्कृष्ट पदयात्रा गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा गत आर्थिक वर्ष पौने ३ लाखभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका गरे । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी हो । अघिल्लो वर्ष २ लाख २२ हजार १८० पर्यटकले भ्रमण गर्दा गत वर्ष २ लाख ७८ हजार ११३ जना पर्यटकले भ्रमण गरेका एक्यापले जनाएको छ ।
तर यति धेरै पर्यटक आउँदा एक्यापले गत वर्ष पर्यटकको प्रवेश शुल्कबाट ४५ करोड १३ लाख २७ हजार २९० रुपैयाँ सङ्कलन गरेको जनाएको छ । तीमध्ये सार्क मुलुकका पर्यटकबाट १५ करोड ७७ लाख ८६ हजार छ भने तेस्रो देशका पर्यटकबाट ३६ करोड उठाइएको छ ।
पर्यटक आगमनको तुलनामा यो रकम कमी भएको आवाज उठेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकबाट सङ्कलन हुने करोडौँ रुपैयाँको खोजी हुनुपर्ने बताए । उनले सरकारले धेरै पहिलेदेखि एक्याप र एमक्याप प्रदेश सरकार मातहत हुनुपर्ने आवाज उठाउँदै आएपनि सफल नभएको गुनासो गरे ।
‘एक्यापले ५० देखि ६० करोड रुपैयाँ पर्यटन शुल्क उठाउँछ । तर त्यो पैसा कहाँ खर्च हुन्छ भन्ने थाहा छैन,’ उनले भने, ‘त्यो रकम संघ, प्रदेश वा स्थानीय तह कुनै पनि राजस्व खातामा जाँदैन भने त्यो पैसा कहाँ गएको छ ?’
एक्यापका आयोजना प्रमुख डा. रविन कडरिया भने पर्यटकबाट संकलन भएको रकम पारदर्शी रुपमा खर्च भएको दावी गर्छन् । उनले विदेशी पर्यटकको संख्यामा वृद्धिले अन्नपूर्ण क्षेत्र विश्व पर्यटकको रोजाइमा अब्बल छ भन्ने देखाउने बताए ।
कुन देशका पर्यटकले रोज्छन् अन्नपूर्ण ?
मुक्तिनाथ मन्दिर एक्याप क्षेत्रभित्रै पर्ने भएका कारण पनि भारतीय पर्यटकको संख्या बर्सेनि बढी देखिन्छ । एकाध बाहेक उनीहरू धार्मिक कर्मका लागि आएका हुन् । तर तेस्रो देशका नागरिकहरू धार्मिकभन्दा पनि पदयात्राकै लागि आएका हुन्छन् । गत वर्ष चिनियाँ १० हजार ७०९, अमेरिकाबाट ९ हजार ५३७, फ्रान्सबाट ९ हजार १९७ जना, बेलायतबाट ८ हजार ३३५ र जर्मनीबाट ८ हजार ७० पर्यटक आएको तथ्याङ्क छ ।