पोखरा र गौतमबुद्ध विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानमा छुट, कस्तो पर्ला प्रभाव ?

टुरिजमफेस
काठमाडौं । अपेक्षा अनुसार अन्तर्राष्ट्रिय उडान हुन नसकेका पोखरा र भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित बनाउन सरकारले विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट प्रदान गरिएको जनाएको छ । जसअनुसार पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको हवाई टिकटमा लाग्ने प्रति यात्रु तीन हजारको यात्रु सेवा शुल्क छुट दिइएको छ ।
यस्तै, हवाई टिकटमा नै लाग्ने प्रति यात्रु एक हजारको पर्यटन शुल्क पनि पूर्ण रूपमा छुट हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यी विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ । सरकारले ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट प्रदान गरेको छ ।
यस्तो निर्णयले ती विमानस्थलबाट सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्न वायुसेवा कम्पनीहरू प्रोत्साहित हुने मन्त्रालयको अपेक्षा छ ।