नेपालगन्ज–दिल्ली सिधा हवाई उडानमा एकमत

सर्वपक्षीय छलफलमा सहभागीहरू
टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौमा गर्ने भारत भ्रमणको सम्मुखमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुचारुका लागि पहलकदमी लिन जोड दिइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आइतबार काठमाडौंमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा सबै राजनीतिक दल तथा नागरिक समाज र सम्बद्ध क्षेत्रका व्यक्तिहरूले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने भएकाले सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे ।
सन् २०१८ मा नेपालगन्जबाट भारतको राजधानी दिल्लीमा बुद्ध एअरले सिधा हवाई उडान गरेको थियो । तर उडान गरेको एक समयपछि भारतीय अधिकारीहरूले स्लट उपलब्ध गराउन नसकेपछि नेपालगन्ज–दिल्ली उडान स्थिगित भएको थियो ।

त्यसयता बाँके, बर्दियासहित पश्चिम नेपालका जनप्रतिनिधिलगायतका बासिन्दाले स्थिगित उडान सुचारु गर्न माग गर्दै आएका छन् । तर यस्तो प्रयासले सार्थकता पाउन सकेको छैन । सम्बद्ध अधिकारीहरूका अनुसार भारतीय पक्षले उपल्लो तहबाट नेपालगन्ज–दिल्ली उडानका लागि प्रस्ताव गरोस् भन्ने चाहना राखेको देखिन्छ ।
त्यस रुटमा हवाई उडान सुचारु गर्नका लागि प्रधानमन्त्री तहबाट प्रस्ताव हुन नसक्दा सर्वसाधारणको इच्छा पूरा हुन सकेको छैन । नेपालगन्ज–दिल्ली सिधा उडान हुँदा नेपाललाई मात्र नभई भारतीय पक्षलाई पनि फाइदा पुग्ने विज्ञहरू बताउने गर्छन् ।
पश्चिम नेपालका धार्मिकलगायतका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्ने भारतीय नागरिकहरूका लागि पनि नेपालगन्ज–दिल्ली उडान हुँदा काठमाडौं पुग्नुपर्ने झन्झट हट्ने उनीहरूको धारणा छ । उडान स्थिगित हुनुमा भारतीय पक्षको सुरक्षा चासो भए पनि नेपालले उडान सुरु हुँदैमा सुरक्षामा कुनै पनि किसिमले समस्या सृजना हुँदैन भनेर भारतीय पक्षलाई प्रतिबद्धता जनाउँदै विश्वास दिलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
नेपालगन्ज–दिल्ली सिधा उडान हुन सक्यो भने त्यसबाट पुग्ने लाभ तथा पर्यटकीय क्षृेत्रको विकासमा सरकार गम्भीर हुन सक्दा आमसर्वसाधारण र समग्र देशलाई फाइदा पुग्ने सर्वपक्षीय छलफलमा सहभागीहरूको धारणा छ । छलफलमा बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू, स्थानीय तहका प्रतिनिधिलगायतको सहभागिता थियो । सांसदहरू सञ्जय गौतम, डा. धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सुर्य ढकाल, महेश्वरजंग गहतराज, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खानलगायतले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानमा प्रतिबद्धता जनाउँदै होस्टेमा हैंसे गर्न तयार रहेको बताए ।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, महासंघका पूर्व अध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले पुग्ने फाइदाबारे उल्लेख गर्दै सरकारले अलिकति मेहनत गर्ने हो भने त्यस रुटमा हवाई उडान सुरु गर्न सहज हुने धारणा राखेका थिए ।
पश्चिम नेपालमा आकर्षक पर्यटक गन्तव्य हुनुका साथै विभिन्न खाले जडीबुटी, कृषि उत्पादन वृद्धि तथा ऊर्जा क्षेत्रको विकास गर्न सकिने सम्भावना छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले सिधा हवाई उडानका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए ।
सर्वपक्षीय छलफलमा सहभागीहरू