नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको छः मन्त्री अधिकारी

टुरिजमफेस
ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको जनाएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित ‘पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरणः जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन’ विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा मन्त्री अधिकारीले जलवायुमैत्री कृषि, दिगो पशुपालन व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग प्रवद्र्धन गर्ने प्रमुख राष्ट्रिय कार्यक्रम कार्यान्वयन गरिरहेको बताए ।
“पारिवारिक खेतीको सन्दर्भमा हामीसँग नमूना कृषि सहकारी, एकीकृत कृषि प्रणाली र किसान–प्रेरित नवप्रवर्तनकारी कार्य जसले ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेका प्रशस्त प्रेरणादायी सफलताका कथा तथा उदाहरण रहेका छन्, हामीले सिँचाइ विस्तार, शीत भण्डार सुविधा र मूल्य शृङ्खला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखेका छौँ, जसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म छिटो, सुरक्षित र नाफामूलक रूपमा पुग्न सहयोग गर्दछ”, मन्त्री अधिकारीले भने।
नेपाल जलवायु परिवर्तनबाट हुने प्रभावमा अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै अगाडि बढ्नु परेको बताए । “अनिश्चित मौसम, बाढी, सुक्खा र पहिरो जस्ता कारणले जीवनयापन र राष्ट्रिय खाद्य सुरक्षामा समेत खतरा उत्पन्न गरेका छन्, हालैका वर्षमा यस्ता प्रकोपका कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ, जसले जलवायु अनुकूलनका उपायको तत्काल आवश्यकता र अपरिहर्यता देखाएको छ”, उनले भने ।
मन्त्री अधिकारीले नेपाल सरकारले योजनाबद्ध रुपमा बाली विविधीकरण, माटोको स्वास्थ्य सुधार, दिगो जल व्यवस्थापन, सुक्खा र बाढी सहनशील बाली प्रजातिको प्रवद्र्धन जस्ता कार्यका लागि थप अग्रसरता, प्रयास र लगानी थालेका बताए ।