नमुना पर्यटकीय गन्तव्य बनेको नगरकोट भ्रमण वर्षको वृत्तचित्र हस्तान्तरण

टुरिजमफेस
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् ।
आज नेपाल पर्यटन बोर्डमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा निर्माण गरिएको नगरकोटको वृत्तचित्र हस्तान्तरण कार्यक्रममा उनले निजी क्षेत्रको अग्रसरतामा विकास भएको पर्यटनस्थल नगरकोटलाई अन्तरराष्ट्रियस्तरसम्म प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।
उनले भने, “होटल व्यवसायीहरुको आपसी प्रतिस्पर्धाका बीच पनि सहकार्यमा आधारित उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका रुपमा नगरकोट स्थापित छ । हामीले आगामी दिनमा अन्तरराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा प्रवद्र्धन गर्नेछौँ ।”
नगरकोटमा निजी क्षेत्रले राम्रो लगानी गरेको र सडक सञ्जालमा पनि राम्रो भइसकेको उल्लेख गर्दै उनले नगरकोट जाने पर्यटकहरुलाई गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेसमेत बताए ।
नगरकोटका होटलहरु क्लब हिमालय, होटल कन्ट्री भिल्ला, होटल मिस्टिक माउन्टेन, काभ्या हिमालयज्, सोल्टी तायो रिसोर्टको सहकार्यमा ‘बियोन्ड सनराइज्, सनसेट एण्ड दी हिमालय’ शीर्षकमा तयार गरिएको वृत्तचित्र नेपाल पर्यटन बोर्ड, नगरकोट भ्रमण वर्ष २०८२ र नगरकोट नाल्दुम पर्यटन विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।
नगरकोटको ऐतिहासिक स्थलहरु, प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावनालाई समेटेर तयार पारिएको वृत्तचित्रले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले विश्वास व्यक्त गरे ।
नगरकोटको प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विविधता झल्काउने उक्त वृत्तचित्रले यस क्षेत्रको ‘पुनः ब्रान्डिङ’ गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
वृत्तचित्र हस्तान्तरण कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले नगरकोट तीन जिल्लाका चार पालिकाको संगमस्थल भएकाले यसको प्रवद्र्धन महत्त्वपूर्ण रहेको बताए ।
नेपाल बोर्डका सदस्य नरेन्द्र देव भट्टले नगरकोटको विकासमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहेको बताए । उनले यस अभियानअन्तर्गत उक्त विृत्तचित्रसँगै अन्य प्रचारात्मक गतिविधि र अन्तरराष्ट्रिय स्तरका करिब ५४ कार्यक्रममार्फत नगरकोटलाई विश्वपर्यटन बजारमा थप आकर्षक रूपमा प्रस्तुत गरिने बताए ।