अब नेपालको पर्यटन प्रबर्धन टिकटकबाट हुने, नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

टुरिजमफेस
काठमाडौँ । विश्वसामु नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ ।
यस अन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्याउनु रहेको छ ।
समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रबर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताएका छन् । उनले भने, “यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो ।
टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्याउने अवसर पाएका छौं । यो अभियानले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ ।” मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गर्दै भने, “नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”
सीईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ- मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्याउनेछ । उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत् प्रचारप्रसार गर्ने जानकारी सीईओ जोशीले दिएका छन् ।
त्यसैगरी टिकटकका दक्षिण एसियाका पब्लिक पॉलिसी प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौं मानिसहरुले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकोले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले भने, “टिकटकमा हरेक दिन करोडौं मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन् ।
नेपालजस्तो हिमाल, अध्यात्म, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पुर्याउन पाउनु हाम्रो लागि गर्वको कुरा हो । यो सहकार्यले नेपाललाई विश्वका पर्यटकहरूको ‘बकेटलिस्ट’ मा थप बलियो गरी स्थापित गर्नेछ ।“ मत्ताकिनले यस अभियान अन्तर्गत ह्यासट्यागमा विशेष इन- एप प्लेटफर्म बनाइने जानकारी गराए । उनले थपे, “हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र सांगीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ ।“
टिकटकका प्रकाशन व्यवस्थापक उमाइस नवीदले यस समझदारी अन्तर्गत विश्वभरका क्रिएटरलाई नेपाल आमन्त्रण गर्ने र उनीहरूले यहाँका अनुभवलाई भिडियोमा डिजिटल संसारमा राख्ने जानकारी दिएका छन् । उनले थपे, “यसले करोडौं मानिसलाई नेपाल प्रत्यक्ष भ्रमण गर्न प्रेरित गर्नेछ । यो अभियानको तीन आधारस्तम्भ छन् । नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा र स्थानीय समुदायसँगको आत्मीयता ।”
साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत् नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।
टिकटसँग बोर्डले गरेको यो समझदारी अनुसार सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन हुनेछ । यसबीचमा काठमाडौंमा ३ख्ष्कष्तल्भउब िशोकेस इभेन्ट आयोजना हुनेछ र जसमा अन्तर्राष्ट्रिय क्रियेटर, सांस्कृतिक दूत र पर्यटन व्यवसायीहरू सहभागिता रहनेछ ।
नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा “डिजिटल पुल” को काम गर्ने विश्वास गरिएको छ ।