सडक स्तरोन्नतिपछि धार्मिक पर्यटकलाई सहज

टुरिजमफेस
अर्घाखाँची । पूर्व-पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् ।
साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे-सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।
गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताए । उनका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो । गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा रु एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिए ।
वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उनले बताए ।
यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उनले बताए ।