हिमाली क्षेत्रमा छैन चिसो, जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय सङ्कटमा

टुरिजमफेस
चौतारा । जलवायु परिवर्तनको असरका कारण सिन्धुपाल्चोकका उच्च हिमाली क्षेत्रमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले सङ्कटमा पर्न थालेको छ ।
तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमी, मौसम परिवर्तनजस्ता कारणले घुम्ती गोठमार्फत चौँरी, याक तथा भेँडापालन गर्नेहरु कम हुँदै गएका हुन् ।
खर्कमा चौरी र याकसँगै फिरन्ते जीवन बिताउने सिन्धुपाल्चोक जुगल गाउँपालिका तेम्बाथनका पासाङ शेर्पालाई हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनका कारण यो पेसामा चुनौती बढेको छ । खर्कमा पहिलेजस्तो घाँस नपाइने भएका कारण चौरीलाई घाँस पु¥याउन हम्मेहम्मे पर्दा चौँरीपालन व्यवसाय सङ्कटमा परेको शेर्पा बताउँछन् ।
पासाङको अनुभवमा हिमाली क्षेत्रमा पहिलेको तुलनामा चिसो छैन । “हिमालमा हिउँ छैन, त्यसैले चिसो नभएको हुनसक्छ”, उनी भन्छन् । पहिले-पहिले बाह्रैमास हिउँले टल्कने हिमाल अहिले काला पहाडमा परिणत भएको उनले सुनाए ।
पाँचपोखरी क्षेत्रको खर्कमा हुर्केर आफ्नो जीविका चौँरी तथा भेडागोठले धानेका लाङगर्चेका ईन्द्रबहादुर गुरुङ भने यो पेसाबाट पलायन भए । उनका छोराछोरी कोही काठमाडौँतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडीमूलुक पुगेका छन् । चौरी, भेडा धमाधम मर्न थालेपछि ईन्द्रबहादुरको पुस्तौँदेखिको आयस्रोतको यो पेसामा पूर्णविराम लागेको हो । पहिले जस्तो मौसम अनि चौँरी तथा भेडाका लागि चरनयोग्य सामग्री नहुँदा आफूले पेसाबाटै विश्राम लिएको उनी बताउँछन् ।
चौँरी, याक र भेडाका लागि लेकाली क्षेत्रमा जङ्गलबीचको खर्कमा गोठ बनाएर त्यही घाँस पानी गर्ने प्रचलन छ । पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरिपालक किसानको भनाइ छ । मौसम चौँरीअनुकुल नभएपछि घाँसको अभाव हुने, अन्य चरनयोग्य प्राकृतिक दाना नपाइने हुँदा चौँरी मर्न थालेको अर्का किसान दलु लामा बताउँछन् । विभिन्न रोगले पशुु मर्नुका साथै उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीका कारण पुस्तौँदेखि गर्दै आएको यो पेसाप्रति युवा पुस्तामा निराशा बढ्दै गएको लामाको भनाइ छ ।