पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना, दैनिक तीन सयभन्दा बढी पुग्छन् पर्यटक

टुरिजमफेस
लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुपुगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात पनि कम हुँदैन ।
डुम्रे–बेँसीसहर सडक छेउ तथा मस्र्याङ्दी नदी नजिकै रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित यो झरना पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनाको आनन्द लिन आउने गरेका स्थानीय सुदीप पन्तले बताए ।
बेँसीसहर नगरपालिका-७ की अस्मिता थापाले भने, “सडक छेउमै झरना रहेकाले यसको आनन्द लिन प्रायः कोहीले छुटाउँदैनन् ।” झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन आनन्दित हुने उनको भनाइ छ । त्यसैगरी अर्का पर्यटक शङ्कर श्रेष्ठले साथीभाइसँग झरनाको फोटो खिच्न र पौडी खेल्न रमाइलो हुने गरेको बताए ।