संसद् भवन र जेनजीको ज्यानमा को मूल्यवान ?

विशेष सम्पादकीय
सुशासनको माग गरी हातहातमा राष्ट्रिय झण्डा बोकेका युवामाथि प्रहरीले गोली वर्षाउँदा भयानक क्षति भयो । प्रदर्शनकारीले संसद् भवनमा आगजनी गर्न खोजेको बेला आक्रामक बनेको प्रहरीले अन्धाधुन्द गोली चलाउँदा ठूलो संख्यामा युवा मारिएको र घाइते भएको देखिन्छ ।
अहिले प्रश्न उठेको छ–यसरी युवालाई गोली चलाउन आदेश दिने को हो ? प्रधानमन्त्री, गृहमन्त्री, प्रहरीको हाकिम, सिडिओ वा स्वयम् गोली प्रहार गर्ने ? सरकारमा बस्नेहरूले सुशासन कायम गर्न सकेको भए अहिलेको यो अवस्था आउने नै थिएन ।
जनताको चाहना अनुसार काम गर्न नसक्ने अनि तिनै जनताको कर असुलेर मोजमस्ती गर्नेले सोमवार इतिहासमै नभएको तान्डव देखाए । आक्रोशित युवाले धेरै गरेको भए संसद् भवनमा आगजनी गर्ने थिए । के सरकारले राम्रो समाजको कल्पना गरेका युवालाई हत्या गरेर थप विध्वंस हुनबाट बचाएको छ ? हिजो मात्र सडकमा हिँडिरहेकी एक बालिकालाई ठक्कर दिएर भाग्ने कोशी प्रदेशका मन्त्रीलाई कारवाही गर्न नसक्ने सरकारप्रति अविश्वास हुनु त्यति नाजायज होइन ।
पक्कै पनि यो आजको मात्र होइन पुस्तौसम्मले नबिर्सने पीडा हो । त्यसैले यो कालो दिन हो । सत्तामा रमाइरहेकाले समाजमा अनुहार देखाउन नहुने दिने हो । यस्ता घटनाको जिम्मेवारी कसले लिने ? सत्ताको मात लागेकाले जिम्मा लिन सक्छन् ?