सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, विस्तारै चलायमान बन्ने विश्वास

टुरिजमफेस
काठमाडौं । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्यो । केही मानवीय क्षति भयो ।
राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो ।
आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे । “पहिलो कुरा पर्यटकलाई थ्रेट छैन । अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ”, पूर्वसचिव खनालले भने, “विगतका विपद्जस्तो पनि हैन अहिलेको अवस्था । जुन मुलुकबाट ट्राभल एडभाइजरीका कारणले घट्ने सङ्ख्या चाही ज्यादै सानो छ । मुख्य स्रोत बजार भारत र चीन हो । पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन । यो अवस्था चाँडै सुधार हुन्छ ।”
खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए । उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ‘ड्राफ्ट प्लान’ बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए । सिइओ जोशीले भने, “पर्यटन पक्कै पनि फेरि उठ्ने छ । विगतको अनुभवका आधारमा तथा पर्यटनसँग आवद्ध अन्तरराष्ट्रिय सङ्घ संस्थाहरूको सहयोगमा चाँडै नेपालको पर्यटन पुनःरुत्थान हुनेछ ।”