धवलागिरि हिमाल आरोहण गर्न २४ जनाले लिए अनुमति, ५० लाख आम्दानी
टुरिजमफेस
म्याग्दी । सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ ।
पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको (आठ हजार १६३ मिटर अग्लो) मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् ।
शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए ।
यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् ।
