पर्यटकलाई बाजागाजासहित स्वागत गर्दै मुस्ताङमा पनि मनाइयो विश्व पर्यटन दिवस
टुरिजमफेस
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो ।
आज जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकलाई खादा र फूल उपहार दिएर स्वागत गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका-३ स्थित जोमसोम विमानस्थलमा हवाईमार्गबाट आउने विदेशी यात्रुलाई बाजागाजासहित स्वागत गरिएको एक्याप जोमसोमका संरक्षण सहायक दीपक ओलीले जानकारी दिए । एक्याप जोमसोमको आयोजना, पुथाङ आमा समूह र जोमसोम महिला समूहको समन्वय तथा सहकार्यमा पर्यटन दिवस मनाइएको उनले बताए ।
पर्यटन दिवसका अवसरमा इन्द्रबक्स गणका कलाकारले बाजागाजासहित हवाईमार्गबाट जोमसोम आइपुगेका पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले उल्लेख गरे । हवाई यात्रुलाई यहाँस्थित पुथाङ आमा समूह, जोमसोम महिला समूहका पदाधिकारी, सदस्यलगायतले खादा र फूल अर्पण गरी स्वागत गरेका हुन् ।
दिवसका अवसरमा पर्यटकसँग संवाद, मुस्ताङका सांस्कृतिक, धार्मिक र पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइएको थियो । एक्याप जोमसोमले म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित एक्याप चेक पोष्टमा सडकमार्गबाट मुस्ताङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको थियो ।
एक्यापका प्रतिनिधि, आमा समूह, जनप्रतिनिधिलगायतले पर्यटकलाई स्वागत गरेका संरक्षण सहायक ओलीले बताए । पर्यटन दिवसका अवसरमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङमा पनि विदेशी पर्यटकका लागि स्वागत कार्यक्रम आयोजना गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।
