पर्यटन बोर्ड भन्छ– यतिबेला २० हजार पर्यटक नेपालमा छन्, सहयोगको आवश्यक छ
टुरिजमफेस
काठमाडौं । देशमा उच्च स्तरमा वर्षा भइरहँदा त्यसको जोखिम नेपाल घुम्न आएका पर्यटकमाथि पनि परेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यतिखेर करिब २० हजार विदेशी पर्यटक काठमाडौंसहित देशका विभिन्न गन्तव्यमा छन् । बोर्डले बाढी, पहिरोको जोखिममा नेपाल घुम्न आएका पर्यटक पर्नसक्ने भएकाले उनीहरूको सुरक्षा तथा सहयोगका लागि स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन विज्ञप्तिमार्फत बोर्डले आग्रह गरेको छ । त्यस्तै उसले नेपालको कानुन अनुसार दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न, यात्रापूर्व गन्तव्य र सडक अवस्थाको जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन (११४४) मा सम्पर्क गर्न समेत पर्यटकहरूलाई भनेको छ ।
देशका विभिन्न स्थानमा व्यापक वर्षा भइरहेकाले विभिन्न सडक अवरुद्ध भएका छन् । हवाई उडान बन्द भएका छन् । कतिपय जिल्ला प्रशासनले सडक आवागमनमा रोक लगाएका छन् । शुक्रवार रातिदेखि सुरु भएको वर्षा सोमवारसम्म जारी रहने मौसम विज्ञान विभागले जनाएको छ ।
