कोरला नाका भ्रमण गर्ने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै

टुरिजमफेस
मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।
समुद्री सतहको (चार हजार ६१०) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरलानाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनि हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।
यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि ५०० डलर राजस्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् ।
सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन । दसैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार १७३ नेपाली आन्तरिक पर्यटक र ६८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिए । यसैगरी दुई दिनको अवधिमा दुई हजार २१७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ ।
नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको सङ्ख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिए । दसैँ पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार ५०० आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उनको भनाइ छ ।