अन्नपूर्ण क्षेत्रका सबै पर्यटकीय गन्तव्यस्थल शान्त र सुरक्षित, ढुक्क भएर घुम्न आउन आग्रह

फाइल तस्विर
टुरिजमफेस
गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो ।
सेप्टेम्बर-अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।
सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । “मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे”, उनले भने, “मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ ।”
अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उनले आग्रह गरे । नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो ।
नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा कडरियाले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
फाइल तस्विर