सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

टुरिजमफेस
बागलुङ । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।
पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ ।
ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए ।
ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उनको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनी बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ ।