अलौकिक ‘पञ्चकुण्ड हिमताल’ पर्यटकको रोजाइमा

टुरिजमफेस
म्याग्दी । उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको पञ्चकुण्ड तालको सौन्दर्य लोभलाग्दो छ । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा गोलो आकारको ताल रहेको छ । समुन्द्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा पर्ने पञ्चकुण्ड ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाउनु पञ्चकुण्डको मुख्य विशेषता भएको इटालीकी पर्यटक निमाले अनुभव सुनाइन् ।
“वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो”, उनले भनिन्, “यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःख कष्ट र तनाव मुलेर मनमा उमङ्ग छाएको महसुस गरेकी छु ।”
एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । पञ्चकुण्ड ताल प्रकृति र संस्कृतिको सङ्गम हो ।
पर्यटकले तालको किनारमा टहलिएर शान्त वातावरणमा रमाउने र ध्यान गर्छन् । कोही ताल र हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर, भिडियो खिच्ने र सामाजिक सञ्जालका सामग्री बनाउँछन् । दुई वर्षअघिसम्म यो ठाउँ सुनसान थियो । प्राकृतिक सौन्दर्य र धार्मिक महत्व स्थानीयस्तरमा सीमित थियो । मौरिस हर्जोग पदमार्गमा आधारभूत पूर्वाधार निर्माण भएर सञ्चालनमा आएसँगै पञ्चकुण्ड तालमा चहलपहल बढेको हो ।
पञ्चकुण्डमा होटल सञ्चालन गरेकी नारच्याङकी नरिमाया गर्बुजा गुरुङले ताल अवलोकन गर्न हाल दैनिक ३०० देखि ५०० जनासम्म पर्यटक आउन थालेका जानकारी दिए । “सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण चर्चामा आएपछि यसपालीको दसैँ र तिहारको बीचमा आन्तरिक पर्यटकको थामिनसक्नु भीड लाग्यो”, उनले भने, “यहाँ रहेका होटलको क्षमताभन्दा बढी पाहुना आउँदा हामीलाई व्यवस्थापन गर्न पनि समस्या भयो ।”
पञ्चकुण्डको धार्मिक महत्व पनि छ । पाँच वटा कुण्ड भएकाले पञ्चकुण्ड नामकरण गरिएको नारच्याङका चन्द्रजित पुनले बताए । “यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल भएको हिन्दू धार्मिक ग्रन्थ पञ्च रामायणमा उल्लेख छ”, उनले भने, “अहिले हिउँ पग्लिएर सबै ताल एउटै बनेको छ ।” परापूर्वकालमा कागभुसुन्दी नाम गरेका एक जना ऋषीले तपस्या गरेर ज्ञान आर्जन गरेर यो तालका बारेमा विभिन्न ठाउँमा प्रचारप्रसार गरेका थिए ।
पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक आस्थासँग जोड्न परिसरमा शिव मन्दिर निर्माण गरिएको छ । स्थानीयवासीले पञ्चकुण्ड नजिकै रहेको डाडाँलाई कागभुसुण्डी नामकरण गरेका छन् ।
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाको बेलिब्रिज तरेर नारच्याङ बेसी हुँदै हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा गाडीको यात्रा र त्यसपछि छ घण्टा पैदलयात्रा गरेपछि पञ्चकुण्ड ताल पुगिन्छ ।
हुमखोलादेखि गुराँसेडाँडा, फुतफुते झरना, साधीखर्क, गुफाफाँट, आकाशे गुफा, रातो झरना, भुसकेट मेला, सुनखोला, पञ्चकुण्ड हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग छ । छिटो हिँड्नसक्ने हुमखोलदेखि एकैदिनमा पञ्चकुण्ड पुग्न सक्छन् । विस्तारै हिँड्नेहरु हुमखोलादेखि भुसखेत गएर बास बस्ने र एक बिहान हाइकिङ गरेर पञ्चकुण्ड पुग्छन् ।
पञ्चकुण्डदेखि एक घण्टा पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । यहाँबाट पर्वतारोहीले अन्नपूर्ण हिमालको आरोहण गर्छन् । समथर फाँटमा रहेको आधार शिविरबाट पञ्चकुण्ड ताल र अन्नपूर्ण हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।
पदमार्गमा रहेका अस्थायी संरचनामा सञ्चालित होटलमा खाना र बस्नको सुविधा छ । पञ्चकुण्ड ताल नजिकै रहेको आश्रयस्थल भवन र टेण्टमा पाहुनालाई राख्ने गरिएको छ । पाहुनाको चाप धेरै भएकाले पहिले नै बुकिङ गरेर आउन भुसकेटका होटल व्यवसायी माइकल पुनले अनुरोध गरे ।
पाहुनाको चापसँगै तालको सरसफाइमा चुनौती बढेको छ । पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्छ । तालमा पौडी नखेल्न र फोहर नगर्न पाहुनालाई अनुरोध गरिएको छ । हिउँदयाममा तालमा बरफ जम्ने गर्छ । जमेको तालमाथि हिँडडुल गर्दा फुतेर दुर्घटनाको जोखिम भएकाले त्यसो नगर्न स्थानीयले अनुरोध गरेका छन् ।