नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै ब्रम्हस्थान, निकुञ्ज र सूर्यास्तको दृश्यले पर्यटक आकर्षित
टुरिजमफेस
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।
ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो ।
सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताए । “सामान्य दिनमा २०० जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदाको दिनमा ५०० नाग्ने गर्दछ”, उनले भने, “यो तिहारको बेलामा त यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा मानिस आएका थिए ।”
ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका नेपालको भनाइ छ ।
यस क्षेत्रमा पर्यटकको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भसहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा दृश्यावलोकन स्तम्भ निर्माण अलपत्र परेको नेपालले बताए । यद्यपि स्थानीय भूतपूर्व सैनिकहरुको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको छ ।
“ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै वनभोजका लागि आउने गरेका छन्”, उनले भने, “पार्कभित्र वनभोज स्थलसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” पार्क नजिकै रहेका होटलमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय हुमनाथ उपाध्यायले बताए ।
“यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाट मानिसहरु घुम्न आउने गरेका छन्”, उनले भने, “यहाँ एकपटक आएका मानिस यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिसहरु आउन थालेका भन्दै उपाध्यायले यस क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रको रुपमा विकास हुने सम्भावना रहेको बताए ।
मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित वनभोज आएकी सरस्वती महतोले यहाँको दृश्यावलोकनका कारण आफूहरुलाई आकर्षित गरेको बताइन् । “हामी परिवारका सदस्य भेला भएको बेला चार÷पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उनले भनिन्, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन् ।”
घरबाट नजिकै पारिवारिक रुपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उनिहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुम्न आएको महतोले बताइन् । गैँडाकोटबाट पहिलोपटक साथीहरुसँग यहाँ आउनुभएका सुजन पाण्डेले ठाउँ राम्रो भए पनि यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताए ।
