नदैगुफा पुग्न पदमार्ग निर्माण, पर्यटकीय र धार्मिक दृष्टिले महत्त्वपूर्ण गुफा पर्यटकको पर्खाइमा
जुम्ला । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ ।
धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले गुफासम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माण गरिएको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।
गाउँसम्म भरपर्दो सडकको आवश्यकता छ । यो वर्ष सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राखेको र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडापालिकाले काम गरिरहेको वडाध्यक्ष रावतको भनाइ छ ।
यहाँको सबैभन्दा अग्लो चुचुरो र गुफा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । नदैगुफाका डाँडाबाट अग्ला हिमाल नियाल्न सकिन्छ । हिमशृङखलाको मनमोहक दृश्यावलोकनका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढाउन जरुरी छ । नदैबाट देखिने वरिपरिका रमणीय दृश्यको आकर्षणले पर्यटकको मन लोभ्याउने गरेको वडाध्यक्ष रावत बताउँछन् ।
नदै गुफा मन्दिर संरक्षण तथा निर्माणका लागि गत वर्ष सङ्घीय सरकारको सर्शत अनुदानबाट रु ९० लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट नदैगुफाको भौतिक संरचना निर्माण, गुफासम्म पुग्नका लागि पदमार्ग निर्माण, धर्मशालालगायत भौतिक संरचना निर्माणका लागि सो बजेट खर्च भएको वडाध्यक्ष रावतको भनाइ छ ।
नदैगुफा दुई सय मिटर लामो रहेको छ । परम्परागत रूपमा गाईको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी बग्ने गरेको । ऐतिहासिक नदैगुफालाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पालिका लागिपरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारले पूर्वतयारीका साथ लागेर उक्त गुफालाई विकास गरिने उनको भनाइ छ ।
पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र नदै गुफासम्म बाह्य पर्यटक तथा आन्तरिक पर्यटकलाई जोड्न गाउँसम्म सडक सञ्जालको पहुँचलाई विस्तार गरे पर्यटनलाई निकै सहज हुने तिला–९ का आमकला थापाले बताए ।
