बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर : नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति
टुरिजमफेस
काठमाडौं । नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ)मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुती गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराए । त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल-बङ्गलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जनजनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदानप्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरे ।
कार्यवाहक निर्देशक शर्माले दिएको जानकारी अनुसार सो अवसरमा टुअर अपरेटर एसोसिएसन अफ बङ्गलादेश (टिओएबी)का अध्यक्ष एमडी रफेउज्जामान र निर्देशक एमडी तस्लिम अमिन (शोभन)ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताए ।
कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीले लोकसांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
सोही अवसरमा दुईदेशका पर्यटन व्यवसायीबीच ‘बीटुबी’ अन्तक्र्रिया तथा ‘नेटवर्किङ’सत्र पनि भएको थियो । साथै, कार्यक्रमकै क्रममा ‘राफल ड्र’ आयोजना गरी विशेष ‘होलिडे प्याकेज’हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा एक सयभन्दा बढी बङ्गलादेशी टुर अपरेटरहरूसहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवाला सहभागी रहेका कार्यवाहक निर्देशक शर्माले बताए ।
बङ्गलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म ‘बीटीटीएफ’ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । यसमा नेपाल पर्यटन बोर्ड, नाटा सहित नेपालका १० पर्यटन व्यावसायिक कम्पनीले सहभागिता जनाएका थिए । बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधि समावेश थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादन प्रस्तुत गर्दै नेपाललाई बङ्गलादेशी पर्यटकका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।
यस अन्तर्राष्ट्रिय मञ्चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई ‘जीवनभरको अनुभवको गन्तव्य’का रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।
