‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा
टुरिजमफेस
नवलपरासी । पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो डाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९३६ मिटर उचाइमा पर्दछ । पर्यटकीय क्षेत्र देवचुलीडाँडाबाट सूर्योदयको मनमोहक दृश्य हेर्न आन्तरिक पर्यटक आउने गरेका छन् । नवलपुरसहित चितवन आसपासका क्षेत्रबाट पदयात्रामा रुचि राख्नेहरूको अहिले देवचुलीडाँडा रोजाइमा पर्न थालेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।
उनका अनुसार अहिले दैनिक २०–३० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । डाँडाबाट बिहान सूर्योदयको सुन्दर दृश्य, उत्तरतर्फका हिमाल, नवलपुर, तनहुँ, पाल्पा र चितवनका भूभाग अवलोकन गर्न पाउँदा आनन्द महसुस गरेको कावासोतीका वसन्त अधिकारीले बताए ।
“यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ”, उनले भने, “यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो ।” देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिए । पूर्वाधार विस्तारसँगै पर्यटन प्रर्वदन तथा रोजगारी सिर्जना गर्न सकिने उनले धारणा राखे ।
छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताए । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उनको भनाइ छ । एक साँझ पोखरी क्षेत्रमा रहेको घरबास (होमस्टे)मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उनले बताए ।
