जारी भयो पदमार्ग मापदण्ड सम्बन्धी दिग्दर्शन, यस्ता छन् नयाँ व्यवस्था
टुरिजमफेस
काठमाडौं । सरकारले पदमार्ग मापदण्ड सम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पदमार्गको वर्गीकरणमा हाइकिङलाई उच्च प्राथमिकतामा राखिएको छ । जसका लागि एक दिनभित्र यात्रा गरिने न्युनतम पाँच किमी दुरीको मार्गलाई हाइकिङका रूपमा परिभाषित गर्दै यस्तो पदमार्गको लागि कम्तीमा २ मिटर चौडा हुनुपर्नेछ ।
त्यस्तै एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाईसम्मको मार्गलाई सहज पदमार्गको रूपमा राखिएको छ । यसका लागि पनि पदमार्ग कम्तीमा चौडा दुई मिटर नै हुनुपर्नेछ ।
एक दिन भन्दाबढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई साहसिक पदमार्ग परिभाषित गरिएको छ भने यस्तो पदमार्गको चौडाइ साढे एक मिटर हुनैपर्नेछ ।
निर्देशिका अनुसार हाइकिङ पदमार्गको निर्माण स्थानीय तहले गर्नुपर्नेछ भने सहज पदमार्ग निर्माण प्रदेश सरकार तथा साहसिक पदमार्ग निर्माण संघीय सरकारले गर्नुपर्ने व्यवस्था गरिएको छ । पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ ।
पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालयलगायतका सेवाको सुनिश्चितता हुने व्यवस्था गर्न पनि प्रष्ट पारिएको छ ।
मन्त्रालयले पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य हुने दावी गरेको छ ।
