स्काइडाइभिङका लागि पोखरा रोज्दै पर्यटक, नियमित सञ्चालनको अनुमति दिए पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने
टुरिजमफेस
गण्डकी । पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन । यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो । ‘नेचर, कल्चर र एडेभन्चर’लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधारसमेत मानिन्छ । प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रुपमा पनि परिचित छ ।
प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल गतिविधिले पोखराको पर्यटनमा बेग्लै आकर्षण थपेका छन् । बर्सेनि ठूलो संख्यामा देशीविदेशी पर्यटक साहसिक र रोमाञ्चक खेलको अनुभव बटुल्न पोखरा आउँछन् । एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ यतिबेला पोखरामा सञ्चालन भइरहेको छ ।
विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एक-दुई याममा आयोजना हुँदै आएको छ । विशेष गरी असोज-कात्तिक र चैत-वैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ । यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ ।
हेलिकप्टर सेवा प्रदायक सिम्रिक एयरसँग मिलेर इनस्काइ स्काइडाइभ कम्पनीले पोखरामा स्काइडाइभिङ गराइरहेको हो । पोखरा महानगरपालिका–२३ पामे, लौराकमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा स्काइडाइभिङ भइरहेको कम्पनीका सञ्चालक निर्मल पाण्डेले जानकारी दिए ।
पोखराको पुरानो विमास्थलबाट गएको हेलिकप्टर लौराकबाट १३ हजार फिटको उचाइमा पुगेपछि प्रशिक्षकहरुले पर्यटकलाई स्काइडाइभिङ गराउने गरेका छन् ।
उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीलाई एकपटकमा जम्मा १५ दिनका लागि मात्र स्काइडाइभिङको अनुमति दिँदै आएको छ । “यो अवधिमा ५२ विदेशी र नेपालीले स्काइडाइभिङ गर्दै छन्”, पाण्डेले भने, “स्काइडाइभिङका लागि १२ रसियन स्पोर्टस् जम्पर्स पोखरा आउँदैछन्, यसलाई नियमित रुपमा चलाउन सके धेरै विदेशी पर्यटकलाई पोखरामा ल्याउन सकिन्छ ।”
प्राधिकरणले स्काइडाइभिङका लागि पटके रुपमा नभई नियमित सञ्चालनको अनुमति दिएमा नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिने उनले बताए । स्काइडाइभिङ कम्पनीहरुले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिन प्राधिकरणसँग माग गर्दै आएको पाण्डेले बताए ।
