दर्जन बढी हिमाली शृङ्खला हेर्न आन्तरिक तथा बाह्य पर्यटकले फूलबारी डाँडा खचाखच
टुरिजमफेस
ललितपुर । समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडाबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिन्छ । कोञ्ज्योसोम डाँडासमेत भनिने यो स्थान फूल्चोकी डाँडाको दक्षिणपूर्वी भागमा पर्छ । नगरकोटभन्दा धेरै हिमाल देख्न सकिने यो स्थानमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।
यही डाँडाको करिब १०० मिटर तल धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको गुप्तेश्वर महादेव मन्दिरसहित गुफा छ । फूलबारी डाँडामा पनि केही वर्षअघि बौद्ध दर्शनअनुसार त्रिदेवको प्रतिमा स्थापना गरिएपछि हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको पवित्र स्थलका रुपमा यो ठाउँ स्थापित भएको छ ।
प्राचीनकालदेखि नै यहाँ दुवै धर्मावलम्बी आस्था एवं विश्वासका साथ पुग्ने गरेका थिए । भारदेउलगायत राजधानीका विभिन्न स्थानमा लामो समय खडेरी प¥यो भने गुप्तेश्वर महादेवको पूजा आराधना गरेपछि पानी पर्ने गरेको यहाँका स्थानीय बताउँछन् । प्राकृतिक र सांस्कृतिक पर्यटकीय दृष्टिले आकर्षक रहेको कोञ्ज्योसोममा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन यहाँका स्थानीय पनि लागिपरेका छन् । आन्तरिक एवं बाह्य पर्यटकका लागि आवश्यक विभिन्न पूर्वाधार निर्माणमा उनीहरु जुटेका छन् ।
सातदोबाटोबाट करिब २२ किमीको दूरीमा कोञ्ज्योसोम गाउँपालिका वडा नं ५ स्थित भारदेउ पुगिन्छ । फूलबारी डाँडा र गुप्तेश्वर महादेव मन्दिरमुनिको यो बस्तीमा आन्तरिक एवं बाह्य पर्यटकलाई स्वागत गर्न चार वटा घरबास (होमस्टे) खुलेका छन् । यहाँको १२७ वर्ष पुरानो एक पुरातात्विक महत्वको घर जसलाई १७ झ्याले पनि भनिन्छ, यसमा खुलेको होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ ।
यहाँका लालकाजी मोक्तानको पाँच पुस्ताअघिका पुर्खाले बनाएको यो घर अहिले पनि उही स्वरुपमा छ । विसं १९९०, २०४५ र २०७२ को तीन भूकम्पले पनि यो घरलाई केही असर गरेको छैन । जसको छानामात्र खरबाट जस्तामा फेरिएको छ । यही घरमा उनीलगायत सात जनाको समूहले होमस्टे चलाएका छन्। यो होमस्टेमा प्रत्येक शुक्रबार खचाखच आन्तरिक एवं बाह्य पर्यटक आउने गरेका छन् । होमस्टे आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाएर आकर्षित गर्ने गरिएको छ ।
गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल स्याङ्तान पनि कोन्ज्योसोम धार्मिक पर्यटन विकास समिति गठन गरेर यहाँको पर्यटन प्रवद्र्धनमा लागि परेका छन् । उनी लगायतको समूहले भारदेउ भ्यू मिनी रिसोर्ट स्थापना गरेर पर्यटकीय पूर्वाधारको आवश्यकता पनि पूरा गरेका छन् । रिसोर्ट नामाकरण गरिए पनि होमस्टेकै स्वरुपमा यसलाई सञ्चालन गरिएको उनले जानकारी दिए ।
