‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा पर्यटकलाई समस्या, अस्थायी पुलमा आलोपालो गर्नुपर्ने
टुरिजमफेस
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गमा व्यवस्थित झोलुङ्गे पुल नहुँदा आवत जावतमा समस्या भएको छ ।
नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको उक्त पदमार्गको नारच्याङ–हुमखोला खण्डको कच्चि सडक र हुमखोला–आधारशिविर खण्डमा रहेका अस्थायी पुल (साँघु र फड्के) हरुको स्तरोन्नति गर्नुपर्ने भएको छ । पदयात्रीहरुको चाप बढेपछि अस्थायी पुलमा आलोपालो गरेर हिड्नुपर्ने अवस्था आएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए ।
स्थानीय सिप र प्रविधिको प्रयोग गरेर निर्माण भएको अस्थायी पुललाई पर्यटकको चापसँगै स्तरोन्नति गर्नुपर्ने भएको उनले बताए । पुलमा काठको फ्ल्याक बिछ्याइएको छ । लठ्ठाहरु हल्लिदाँ वारपार गर्न जोखिम भएको हो । भारी बोकेर पुल तर्न गाहे हुने गरेको छ । पुलको दायाँबाया जाली पनि छैन् । कतिपय ठाउँमा काठका साघुबाट खोला तर्नुपर्छ ।
हुमखोला, फुतफुते झरना, रेडवाटर फल, सुनखोला र पञ्चकुण्डमा रहेका काठे पुल परिवर्तन र स्तरोन्नति गर्नुपर्ने देखिएको हो । पञ्चकुण्ड तालको छेउबाट आधार शिविर जाने बाटोमा खोलामाथी राखिएको काठमा हिउँ जम्ने र चिप्लने समस्या छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दुमा पर्ने हुमखोलामा ६० मिटर लामो झोलुङ्गे पुल निर्माणको तयारी गरेको जनाएको छ । गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले सामग्रीहरु खरिद भइसकेको पुल निर्माण गर्न उपभोक्ता समिति गठन र सम्झौतापछि काम अघि बढाउने बताए ।
